श्रावण ०४ काठमाडौं : पर्साको ठोरीस्थित सीता गुफा क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।शनिबार अपराह्न सीता गुफा नजिकै गरेको नेपाल–भारत सीमामा अवस्थित ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको थियो । यद्यपी अहिले पुनः सोही स्थानमै सीमा स्तम्भ गाडिएको छ ।
दुवै देशका स्थानीय स्तरका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्षको रोहबरमा शनिबार राति ९ बजे पहिलेकै स्थानमा पिलर गाडिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले बताए ।
नरकटियागंजस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीका सेकेन्ड इन कमान्डेड अनिल सिंह नेतृत्वको टोली सीमा स्तम्भ उखेलिएको ठाउँमा आएको र पहिलेकै स्थान र डिरेक्सनमा पिलर गाडेर समस्या समाधान गर्ने प्रस्ताव राखेका थिए ।
सोही प्रस्ताव अनुसार प्रहरी निरीक्षक दाहालले जिल्लामा समन्वय गरेको गरेका थिए । जिल्लाबाट स्थानीय जनप्रतिनिधिलाई समेत राखेर विवाद समाधान हुने भने पहिलैकै स्थानमा पिलर गाड्न आफूले निर्देशन पाएको बताए । सोही अनुसार शनिबार राति ९ बजे नै यथास्थानमा पिलर गाड्ने काम भएको उनले बताए ।
प्रहरी निरीक्षक दाहालका अनुसार इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साह, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ तथा भारतका तर्फबाट एसएसबीका सेकेन्ड इन कमाण्डेड सिंह र भिखना ठोरीस्थित एसएसबीका इन्सपेक्टर प्रमित जैसवालको रोहबरमा उखेलिएको पिलर यथास्थानमै गाडिएको हो ।
यता सीता गुफा अवलोकन गर्न आउनेको ठूलै भिड बढेका कारण केही दिनका लागि सो क्षेत्रमा जान रोक लगाइएको प्रहरी निरीक्षक दाहालले बताए ।
‘सीता गुफा क्षेत्रमा केही दिनका लागि सर्वसाधारणलाई जान रोक लगाइएको छ,’ दाहालले भने–‘पत्रकारलगायत माथिल्लो तहबाट अवलोकन र अध्ययन गर्न आउने टोलीलाई भने सशस्त्रकै सुरक्षा घेरामा सो ठाउँमा जाने व्यवस्था मिलाउँछौं ।’
प्रतिक्रिया दिनुहोस