पर्सा प्रहरीले वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो ।
सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् । प्रहरीले बरामद गरेको सुन सक्कली प्रमाणित भएमा १८ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस