तनहुँ, कात्तिक ६ गते । नेपाल तरुण दल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरिने भएको छ । नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औँ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई सम्मान गर्ने भएको हो ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति तनहुँले कात्तिक १० गते स्थापना दिवस दिनमा पत्रकार नहर्कीलाई पुरस्कार प्रदान गरिने निर्णय भएको नेपाल तरुण दल तनहुँका अध्यक्ष हीरा थापाले जानकारी दिनुभयो ।
एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो । सोही अनुरुप नेपाल प्रेस युनियन तनहुँको निवर्तमान अध्यक्षसमेत रहनुभएका नहर्कीलाई सम्मान गर्ने निर्णय भएको अध्यक्ष हीरा थापाले बताउनुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, ‘‘उद्यमशील क्षेत्रमा लागेका तरुणहरुको बारेमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरुप नहर्कीलाई सम्मानका लागि छनोट गरिएको हो ।’’ युवाहरू विदेश पलायन भइरहेको अवस्थामा युवा उद्यमीको विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने नीति अनुसार उहाँलाई सम्मान गरिएको जानकारी थापाले दिनुभयो ।
नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरिने नेपाल तरुण दल तनहुँले जनाएको छ । नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता तथा नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस