आज:  २०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालिका जबरजस्ती करणी प्रकरणः राजमार्ग अवरुद्ध गरेर पीडकमाथि कारबाहीको माग

एपी खबर २०८१ कार्तिक ६, मंगलबार ( २ घण्टा अघि) ३५ पाठक संख्या

दाङ– दाङ भालुबाङकी आठ बर्षिया बालिका जबरजस्ती करणीमा परेको १२ दिन बितिसक्दा पनि प्रहरीले संलग्न व्यक्तिको पहिचान गर्न नसकेको भन्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ ।

 

पीडित पक्षले प्रहरी कार्यालय अगाडी दैनिक जसो धर्ना दिँदै दबाब बढाउँदै आएका छन् । मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ ।

 

यसका साथै भालुबाङ बजार बन्द गरिएको छ । घटना गत असोज २४ गते फूलपातीको दिन भएको थियो । सशस्त्र प्रहरी क्याम्प नजिक टाँगिएको पिङ्ग खेल्न पुगेकी ८ बर्षिया बालिका करणीमा परेको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो ।

 

पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासँगै रहेकी अर्की एक १५ बर्षिया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि कार्यालयमा राखेको छ ।

 

दुवै बालिकासँग घटनाको बारेमा जानकारी लिने र शंकास्पद व्यक्तिहरूसँग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ । ‘पीडित बालिका प्रहरीको संरक्षणमा हुनुहुन्छ । उहाँसँग रहनुभएकी अर्का एक १५ बर्षिया बालिकालाई पनि प्रहरी कार्यालयमा राखेका छौं,’ घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ’जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले भने, ‘यो घटनालाई प्रहरीले गम्भिर रुपमा लिएको छ । सिआइबीको टोलीलेसमेत घटनाको अनुसन्धान गरिरहेको छ ।’

 

प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोस बढ्दै गएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने चेतवानी दिइएको छ ।

 

‘प्रहरी कार्यालयसँग निरन्तर छलफल गरिरहेका छौं । तर, प्रहरीले अझैं सम्म संलग्न व्यक्ति पहिचान गर्न नसक्नु दुःखको कुरा हो । बालिकाको न्यायको लागि हामीले सार्वजनिक रुपमा दवाव सृजना गर्न थालेका छौं’राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक सुरज खड्काले भने, ‘के कारणले हो अझैं सम्म संलग्न व्यक्तिको पहिचान गर्न नसक्नु ? हामीले थालेको संघर्ष न्यायको संघर्ष हो ।’

 

घटनाको सत्यतथ्य छानबिन गर्न माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस