आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राख्यो, बदलिएको परिस्थितीमा देउवाले आलमलाई छुटाउन सक्लान् त ?

सुप्रिया ढकाल २०७८ श्रावण २९, शुक्रबार ( ३ साल अघि) ३२७ पाठक संख्या

रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसबाट निर्वाचित संघीय सांसद मोहम्मद अफ्ताव आलम बम बिस्फोट तथा इट्टाभट्टामा हाली २१ जनाको हत्या गरेको अभियोगमा प्रहरी हिरासतमा छन् ।

आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो ।

पहिलो संविधान सभा निर्वाचनको समयमा राजपुरमा २०६४ साल चैत २७ गते साँझ ६ः३० बजे आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम बिस्फोट हुँदा घाइतेलाई इट्टाभट्टामा जलाएर मारेको आरोप आलममथि छ । उनलाई बिस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।

आलम घटनाको १२ बर्षपछि जेल चलान भएयता उनको संरक्षण तथा उनलाई थुनामुक्त गर्न थुर्पै आन्दोलन भए, भने केन्द्रिय स्तरबाट समेत चहलपहल भए ।

गत फागुन १९ गते तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाले दिएको अभिव्यक्ति यस्तो छ,

‘आलमजी अहिले जेलमा हुनुहुन्छ । म आफ्नोतर्फबाट, आफ्नै किसिमले छुटाउन लागिरहन्छु । तपाईंहरु धैर्य गर्नुहोस् । भोलि परिस्थिति बदलिन पनि सक्छ । त्यसैले तपाईंहरु धैर्य गरेर बस्नुहोला । अदालतमा मुद्दा चलिरहेको छ ।’

तत्कालीन समयमा रेशम चौधरीको मुद्दा सरकारले फिर्ता लिने हल्ला चलिरहेको अवस्थामा नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले जघन्य अपराधका अभियुक्त मोहमद अफ्ताब आलमलाई छुटाउन सकिने अभिव्यक्ति दिएका थिए ।

तत्कालीन समयमा विपक्षी दलका नेता तथा हाल प्रधानमन्त्री नै बनेका देउवाले भनेझैँ अहिले ‘परिस्थिति बदलिएको’ छ । अर्थात् अहिले उनी आफैं प्रधानमन्त्री छन् । महान्यायाधिवक्ता पनि नेपाली काँग्रेसकै राजनीति गरेका खम्मबहादुर खाती छन् । यस्तो अवस्थामा देउवाले भनेझैँ परिस्थिति बदलिएको छ र अनुकुल बनेको छ ।

तर, यो अनुकुल परिस्थिति हाल थुनामा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद मोहमद अफ्ताव आलमका लागि कति अनुकुल छ त ? के सरकारले फिर्ता लिन चाहेको अवस्थामा आलमको मुद्दा फिर्ता हुन सक्ला त ?

मुलुकी फौजदारी कार्यविधि संहितामा सरकारले मुद्दा फिर्ता लिने सम्बन्धी व्यवस्था छ । संहिताको परिच्छेद १२ मा ‘मुद्दा फिर्ता लिने, मिलापत्र र मेलमिलाप सम्बन्धी व्यवस्था’ छ । उक्त परिच्छेदको दफा ११६ मा मुद्दा फिर्ता लिन नहुने बारे पनि उल्लेख गरिएको छ ।

दफा ११६ को उपदफा २ क मा केही त्यस्ता अपराधको सूची उल्लेख गरिएको छ, जुन मुद्दा सरकारले चाहेर पनि फिर्ता लिन सक्दैन । सरकारले फिर्ता लिने नसक्ने मुद्दाहरूमा झुटा राहदानी वा नागरिकता, अध्यागमन, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध ओसार पसार वा कारोबार, वन्यजन्तुको अवैध सिकार तथा व्यापार, सार्वजनिक उपभोगका वस्तुमा विष मिसाइएको, विष प्रयोग गरी वा क्रूर, अमानवीय तवरले वा नियन्त्रणमा लिई ज्यान मारेको, सम्पत्ति शुद्धीकरण, प्राचीन स्मारक संरक्षणसम्बन्धी मुद्दा आदि पर्छन् ।

यस्ता मुद्दामा अभियोजन दर्ता गरी सकिएको अवस्थामा सरकारले चाहँदैमा मुद्दा फिर्ता लिन सक्ने सम्भावना हुँदैन ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ को उपदफा ५ मा फिर्ता लिन मिल्ने मुद्दाका सन्दर्भमा महान्यायाधिवक्ता वा निजले अख्तियारी दिएको सरकारी वकिलमार्फत् सम्बन्धित अदालतमा मुद्दा फिर्ता लिनुपर्ने कारणसहितको निवेदन दिनु पर्नेछ भन्ने उल्लेख गरिएको छ ।

त्यसैगरी संहिताको दफा ११६ को उपदफा ६ मा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेमा र अदालतमा मुद्दा फिर्ताका लागि निवेदन परेमा अदालतले मुद्दा फिर्ता लिने आदेश दिनुअघि सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था छ ।

त्यसैगरी संहिताको दफा ११६ को उपदफा ७ मा सुनुवाइ भएपछि मुद्दा फिर्ता लिने आदेश गर्न मनासिब हुने देखिएमा कारण खुलाई सम्बन्धित अदालतले मुद्दा फिर्ता लिन सक्ने आदेश गर्न सक्नेछ भन्ने उल्लेख गरेको छ ।

यो पनि हेरौ,
रौतहट बम काण्डका आरोपी आलमले घटना लुकाउन हदैसम्मको क्रुर हर्कत गरेका थिए । आफ्नै घरमा भएको बम बिस्फोटको घटनामा काँग्रेस नेता तथा निलम्बित सांसद अफताब आलमले घाइते भएका आफ्नै गाउँका युवाहरूलाई घटना ढाकछोप गर्न जिउँदै इँटा भट्टीको भुङ्ग्रोमा हालेर ज्यान लिएको साक्षी बक्नेहरूको बयान दिईसकेका छन्, जुन सुन्दा अहिले पनि शरीर जिरिङ्ग हुन्छ ।

घटनाका सम्बन्धमा १२ वर्षपछि प्रहरी र सरकारी वकिलसमक्ष बयान दिँदै घटनाबारे थाहा पाउने राजा इँटा भट्टामा काम गर्ने बाराका लखिन्द्र पटेलले घटनाका प्रत्यक्षदर्शी आफ्ना भाई प्रभुको कुरा कागजी रुपमा यसरी बिस्तार गरेका छन् ।

भाइले बताएअनुसार २७ गते साँझ सेख इद्रिसको गोठमा नेता मो. अफ्ताव आलम लगायतका मानिसहरूले चुनाव जित्नका लागि बम बनाउने क्रममा अचानक बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको सो घटनामा परी केही मानिसको मृत्यु भएको त केही मानिसहरू सख्त घाइते भएको, घाइते भएकाहरूलाई हिजो राति २७ गते ट्याक्टरमा लोड गरी मोहमद अफ्ताव आलम, मोहमद महताब आलम, शेख भदई, मोहमद मोबिन आलम, शेख सेराज लगायत अन्य नचिनेको हिन्दी भाषा बोल्ने ३–४ जना समेतले ल्याई इँटा पकाउने भुङ्ग्रोमा जिउँदै पालैपालो हालेको, सबैजना सोही भुङ्ग्रोमा खरानी भएको बतायो ।’

घटनाबारे थाहा पाए पनि डरका कारण कहीँ कतै उजुरबाजुर गर्न नसकेको र कसैलाई बताउन नसकेको लखिन्द्रले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

इँटा भट्टामा मान्छे हालेर जलाएको देख्ने लखिन्द्रका भाइ प्रभु मात्रै थिएनन्, सोही इँटा भट्टामा काम गर्ने राजेशप्रसाद सहनी पनि थिए ।

यसरी बम बिस्फोटमा परी घाइते तथा मृत्यु भएकाहरूलाई इँटा भट्टामा हाली जलाएको दर्दनाक दृश्य प्रत्यक्ष देख्ने साक्षीहरूको बयानसमेत लिएर प्रहरीले बलियो सबुत, प्रमाण र साक्षी तयार गरेको छ । सोही तथ्य, प्रमाण र साक्षीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले आलमसहित अन्य फरार १० जना विरुद्ध जिल्ला अदालत रौतहटमा कर्तव्य ज्यानको मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस