आज:  २०८१ पौष ३, बुधबार | Wed, 18, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्णाली याक्स एनपिएल क्वालिफायरमा, चितवन राइनोजको यात्रा समाप्त

एपी खबर २०८१ पौष ३, बुधबार ( १३ घण्टा अघि) २१ पाठक संख्या

कर्णाली याक्स पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर दुईमा प्रवेश गरेको छ । बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायर दुईमा प्रवेश गरेको हो ।

 

यो हारपछि चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।  एलिमिनेटर खेलमा कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट १ सय ५४ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने चुके । उनले ३४ बलमा चार छक्का र तीन चौकासहित ५३ रन बनाए । यस्तै, कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लुक बेन्केनस्टाइनले १६ र शरद भेषवाकरले अविजित १० रन जोडे ।

 

कर्णालीका लागि जीशान मक्सूदले तीन, कप्तान सोमपाल कामी, नन्दन यादवले दुई/दुई र विपिन शर्माले एक विकेट लिए ।

 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

 

उसका लागि जयकिशन कोलसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । कोलसावालाले ३८ बलमा ६ चौका र २ छक्कासहित ५२ रन बनाए ।

 

उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । एनपिएलमा भारतीय कोलसावालाको यो पहिलो खेल हो । र, उनले आफ्नो पहिलो खेलमै अर्धशतक बनाए ।

 

यस्तै, अस्ट्रेलियन अलराउन्डर बोसिस्टोले ३९ बलमा तीन चौका र दुई छक्कासहित ५२ रनको इनिङ खेले । त्यस्तै, चाडविक वाल्टनले अविजित ४६ र जीशान मक्सूदले १४ रन बनाए ।

 

चितवनका लागि सोहेल तनवीरले दुई, कप्तान कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले एक/एक विकेट लिए ।

 

यो जितपछि कर्णालीले क्वालिफायर–२ मा स्थान बनाएको छ । उसले अब फाइनल प्रवेश गर्न क्वालिफायरमा क्वालिफायर–१ को पराजित टिमको सामना गर्नेछ ।

 

क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन् । यी दुई टिमबीचको खेल बुधबार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस